काठमाडौं, फागुन १३ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल र सरोकारवालाई एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
राजधानीमा आज आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा महेन्द्रनारायण निधिको ९५औं जन्मजयन्ती कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले दुई दशकदेखि हुन नसकेको स्थानीय निर्वाचन गराउन सबैलाई एक हुन अपिल समेत गर्नुभयो ।
उहाँले सबैका मुद्दा समेटेर देशमा शान्ति कायम गराउनसक्ने व्यक्ति नै सच्चा राष्ट्रवादी हुने धारणा राख्नुभयो ।
कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गर्दै तीनओटा निर्वाचन गराउन अहिलेको सरकार बनेकाले चुनाव गराउन नसके सरकारको औचित्य पनि सकिने टिप्पणी गर्नुभयो ।
उहाले राजनीतिक दलसम्बन्धी प्रस्तावित कानुन संशोधन नभएपनि स्थानीय निर्वाचन गराउन बाधा नपर्ने भएकाले तोकिएको समयमा नै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो
कार्यक्रममा राजनीतिक र सामाजिक क्षेत्रमा सहयोग र्पुयाएका चारजनालाई सम्मान पनि गरिएको थियो । एक लाख १ हजार पुरस्कार राशी रहेको प्रेमसागरी देवी निधि पुरस्कार रत्नाकुमारी श्रेष्ठ र वृन्दा जोशीलाई प्रदान गरियो भने ५१ हजार रुपैयाँ राशीको महेन्द्रनारायण निधि पुरस्कार देवेन्द्र उपाध्याय र पन्नालाल गुप्तालाई प्रदान गरियो ।