नेपालको शैक्षिक क्षेत्र राजनीतिको अखडा कहिलेसम्म ?

नेपालको शैक्षिक क्षेत्र राजनीतिको अखडा कहिलेसम्म ?

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

त्रिविविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका भित्ता रङ्गिएका छन् । क्याम्पसहरुमा राजननीतिक सरगर्मी ह्वात्तै बढेको छ । विद्यार्थी हकहितका जोसिला भाषण यत्रतत्र सुनिन्छन् । त्रिविविको शैक्षिक गुणस्तर उकास्ने कुरा उठाइदैछ । तर वास्तविकता त्यस्तो छैन । पार्टीहरुको राजनीतिक क्रीडास्थल बनेको त्रिविवि र सोसंग आबद्ध कलेजहरुको हालतमा सुधार भएको छैन बरु दिन प्रतिदिन खस्कँदो छ । स्ववियु चुनाबसहमति, असहमति, अपहरण, तालाबन्दी, स्थगनजस्ता प्रक्रियाबाट गुज्रिरहेछ । हो, कुनै पनि लोकतान्त्रिक संस्था नभएको बेला स्ववियुको आवधिक निर्वाचन हुने विषय निःसन्देह महत्वपूर्ण विषय थियो । स्ववियुको वैधानिकताको सदुपयोग गरेर तत्कालीन प्रतिबन्धित नेका र वाम पार्टीहरुले तत्कालीन पञ्चायती निरङ्कुशता विरुद्ध विद्यार्थी आन्दोलनको ज्वारभाटामात्र सिर्जना गरेनन्, आफ्नो पार्टीलाई राष्टव्यापी विस्तारको लागि स्ववियुलाई एक सशक्त सम्पर्क सूत्रको रुपमा प्रयोग गर्न सफल भए । तर आज परिस्थिति विल्कुल भिन्न भएको छ । अब स्ववियुको पुरानो संरचनाको औचित्य सम्पूर्ण रुपमा समाप्त भएको छ । यसलाई केही बुँदाहरुमा यसरी सूत्रबद्ध गर्न सकिन्छ ।
क)  शैक्षिक संस्थाभित्र राजनीति अनावश्यक
लामो संघर्ष पछि नेपाली जनताले सम्पूर्ण रुपमा लोकतान्त्रिक अधिकार प्राप्त गरिसकेका छन् । अब हरेक क्षेत्रमा लोकतान्त्रिक अभ्यास गर्न पाइन्छ । सो प्रयोजनको निम्ति अब विश्वद्यिालय वा क्याम्पस गईरहनु पर्दैन । फेरि ती संस्था राजनीति गर्ने अखडा होईनन् । ती अध्ययन अध्यापनका केन्द्र हुन् । विगतको वाध्यताको निरन्तरता अब किमार्थ आवश्यक छैन । बाबु आमाको खर्चमा अध्ययन गर्न आएको कल्कलाउदो उमेरका विद्यार्थीलाई राजनीतिमा होमेर राजनीतिक पार्टीलेअब राजनीतिको रोटी सेकिरहनु पर्दैन । शैक्षिक संस्थाभित्र हुने राजनीतिक क्रियाकलापले समग्र देशको शैक्षिक स्तर विग्रेको र यसले देशको आर्थिक समृद्धिमा दीर्घकालसम्म असर पार्नेछ । स्ववियु पुरानो संरचना खारेज गरी नयाँ एवम् गैर राजनीतिक चरित्रको बनाइएमात्र शान्त शैक्षिक वातावरण बन्ने निस्चित छ । स्ववियु निर्वाचनमा विद्यार्थी अघि सारेर राजनीतिक पार्टीहरु चुनाव लड्ने भएकोले त्यहाँ हिंसा भड्किने खतरा त्यत्तिकै छ ।भौतिक सम्पत्तिको तोडफोड शुरु भइ सकेको छ । करोडौंको नोक्सान  गरेर, हिंसाका विच लडिने स्ववियु चुनावको अब कुनै तुक छैन ।
ख) स्ववियु भ्रष्टाचारको अखडा
स्ववियुमा जित्ने नेताहरुको ध्यान विद्यार्थीको हक हित भन्दा पनि क्याम्पसका भौतिक संरचना निर्माणको ठेक्का पट्टातिर सोझिन्छ । त्यहाँ ठूल्ठूला कमिसन र भ्रष्टाचारका खेल चल्दछन् । त्यही कारण हो, स्ववियु सभापतिको टिकट पाउन मातृ पार्टी वा विद्यार्थी संगठनमा सभासदको टिकट पाउनेभन्दा ठूलो लडाँई हुने गरेको देखिन्छ । अहिले कै अवस्थाले निरन्तरता पाउने हो भने स्ववियु कुनै विद्यार्थी हक हित गर्ने केन्द्र होइन, युवा राजीतिककर्मीलाई भ्रष्टाचार र कमिसनखोरको तालिम गर्ने अखडा बन्ने निस्चित छ । विद्यार्थीलाई सुशासन र सदाचार सिकाउनु पर्नेमा भ्रष्टाचारी र कमिसनखोर बन्न सिकाएपछि कालान्तरमा उनै प्रधानमन्त्री,मन्त्री हुँदा कस्तो शासनको अपेक्षा गर्ने ?
ग) नक्कली विद्यार्थीको राज
स्ववियु निर्वाचनमा उम्मेद्वार बन्नको लागि अध्ययन पूरा गरेका ( वा जेन तेन प्लस टु पास गरेर अध्ययन छोडेकाहरु समेत ) पटक पटक क्याम्पस भर्ना भइरहन्छन् । ती नक्कली विदयार्थीको प्रमुख धेय क्याम्पसभित्र राजनीति  गर्ने हुन्छ, पढ्ने होइन ।२८ बर्षे उमेर हद लगाउदा समेत उमेद्वार बन्नका लागि मात्र कलेजमा भर्ना हुने चलन रोकिएको छैन । जसको उदेश्य पढ्ने हुदैन, उसको हातमा एक शैक्षिक संस्थाको बागडोर गएपछि त्यस संस्थाको शैक्षिक स्तर खस्कनु नितान्त स्वभाविक छ ।  क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी,लेखा कक्षमा तालाबन्दी, तोडफोड, हडताल, घेराउजस्ता कार्य शैक्षिक संस्थाका दैनिकी बन्दछन् । अध्ययन, अनुसन्धान, परियोजना कार्य, प्राज्ञिक बहस ओझेलमा पर्दछन् । शैक्षिकस्थल दिमागी अभ्यासको थलो हो , यो बाहुबलीय अभ्यासको थलो होइन । तर डनहरु, बलपूर्वक टेण्डर आफ्नो हातमा पार्ने समुह, नेताका खास मान्छे मिलेर बाहुबलीय अभ्यास गर्ने अखडाको रुपमा आंगिक क्याम्पस विकसित हुदै जानु ज्यादै चिन्ताको विषय हो ।
घ) समाधान
स्ववियु म्याद नाघेको औषधी भएको छ । यसको जति बढी इस्तेमाल गर्यो त्यति हानी हुनेवाला छ । त्यसकारण सर्वप्रथम स्ववियुको विद्यमान संरचना खारेज गर्नु पर्दछ ।घोषित चुनाब खारेज गरेर प्राज्ञिक प्रतिस्पर्धालाई आधार मानेर गैर राजनीतिक विद्यार्थी काउन्सिल बनाउनु पर्दछ । कलेज परिसर भित्र कुनै पनि विद्यार्थी संगठनको झण्डा, लोगो तुल ब्यानर राख्न दिइनु हुदैन । शैक्षिक उन्नयनका लागि विद्यार्थीको सहभागिता बढाउन कलेज व्यवस्थापन समितिमा संकायबाट सबभन्दा राम्रो शैक्षिक र प्राज्ञिक क्षमता प्रदर्शन गर्नेहरुको प्रतिनिधित्व गराउन सकिन्छ । कलेज परिसरमा विद्यार्थी, शिक्षक र परिचय पत्रको आधारमा अभिभावकभन्दा अरुलाई प्रवेश निःषेध गरिनु पर्दछ । यसो गर्न सके थुप्रै सकारात्नक परिणाम हात लाग्दछन् । विश्वविद्यालय र यसका आंगिक कलेजमा केवल अध्ययन, खोज अनुसन्धान र प्राज्ञिक उन्नयनका काममात्र हुनेछन् । पार्टीका भीमकाय विद्यार्थी भातृ संगठनको औचित्य समाप्त हुनेछ । कलेजमा अध्ययन गर, राजनीति गर्न चाहनेले आफ्नो निर्वाचन क्षेत्रमा जाउ भन्ने मान्यतामात्र स्थापित गर्न सकिए देशको आर्थिक समृद्धि ,शैक्षिक प्रगति र स्थायित्वमा ठुलै टेवा पुग्ने थियो ।र, त्रिविविको यस्तो शैक्षिक दुरावस्था समेत देख्नु पर्ने थिएन । त्रिविविको सिको गरेर अरु शैक्षिक क्षेत्रमा पनि राजनीतिले दिन प्रतिदिन हस्तक्षेप गरेको देख्नु पर्ने थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी