काठमाडौ ११ फागुन ।
नेपाल पत्रकार महासंघले राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण गरेको भन्दै तत्काल रोक्न माग गर्दै दुईजना पत्रकारले महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् ।
महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले आज बिहान देखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशन सुरु गरेका हुन् ।
पछिल्ला दिनहरुमा पत्रकार महासंघमा चरम राजनीतिकरण बढेको लगायत चार बुदे माग राखेर उनीहरुले केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दी गरी कार्यालयकै परिसरमा अनसन सुरु गरेको बताइएको छ ।
उनीहरुले राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।