काठमाण्डौ, फागुन १० ।
राष्ट्र बैंकले अटो लोनमा कडाई गर्दै पहिलोपटक मूल्यको तुलनामा कर्जा अनुपात तोकेको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो ।
यदि ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु पर्दा अब बैंकहरुले २५ लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन् । यो सीमा निजी अटो लोनमा मात्रै हो । सार्बजनिक सवारी साधन र भौतिक पूर्वाधारमा प्रयोग हुने सवारी साधनमा भने यो सीमा लाग्ने छैन ।
बैंकहरुले सवारी साधनको कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसलाई कडाई गर्ने संकेत यसअघि नै गरेको थियो ।
राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिँदा यस्तो अनुपात तोकेको भएपनि सवारी साधानमा नतोकिएकाले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताउदै आएको थियो ।
राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले अटोतर्फ १ खर्ब ४२ अर्ब कर्जा लगानी गरेका छन् ।
ऋणयोग्य रकमको अभावमा प्रवाह भइरहेको कर्जामा एकैपटक ५÷६ प्रतिशत विन्दुसम्मको उच्च वृद्धि देखिएकोमा पनि राष्ट्र बैंकले चिन्ता गर्दै आएको छ ।