काठमाडौ ९ फागुन ।
सिन्धुलीको त्रिवेणी भन्ने ठाउँमा गएराति सुख्खा पहिरो गएर सडक भासिँएपछि अवरुद्ध बिपी राजमार्ग सुचारु भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले झण्डै डेढ किलोमिटर सडक खनेर वैकल्पिक मार्ग बनाएपछि यातायात सञ्चालनमा ल्याइएको हो ।
सडक खुलेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिनु भयो । त्रिवेणीधाममा गएराति सुख्खा पहिरो गएपछि सडक भासिएर यातायात अवरुद्ध भएको थियो ।
भासिएको सडकमा दुर्घटना हुने जोखिम भएकाले आज बेलुकादेखि मंगलबार बिहान ६ बजेसम्मका लागि सडकमा सवारी साधन चलाउन रोक लगाइएको छ । दुर्घटनाको जोखिम भएकाले वैकल्पिक सडकमा एकतर्फीमात्र यातायात संचालन गरिने जनाएको छ ।
एक्कासी पहिरोले सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने सवारी साधनहरु विच बाटोमै रोकिएका थिए । जापान सरकारले बनाएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि सवारी साधनहरु सञ्चालनमा आएका हुन् ।