काठमडौ ८ फागुन ।
नेपाल प्रहरीको डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा बढुवा गर्ने मन्त्री परिषदको निर्णय सम्बन्धमा सर्बोच्च अदालतले आगामी बुधबार मात्र फैसला सुनाउने भएको छ ।
यो सँगै सर्बोच्चले तत्कालका लागि चन्दलाई आइजीपीमा नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश लम्बिने भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधबारसम्म अल्पकालीन अन्तरिम आदेश जारी रहने फैसाला सुनाएको हो ।
आगामी बुधबार महान्यायाधिवक्ता कार्यालयलाई गत आइतबार इजलासमै चढाएको पूरक निवेदनका बारेमा सूचना दिने र दुवै पक्षलाई राखी बहस गर्ने अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
गत आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने÷दिलाउने, पदबहाली गर्ने÷गराउनेलगायत कुनै पनि कार्य नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै गत माघ २९ गते रिट निवेदन दायर गर्नुभएको थियो ।
निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षकमा नियुुक्त गरेको जनाउँदै सो नियुक्ति बदर गर्न माग गरिएको थियो । त्यसैगरी गत आइतबार चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयविरुद्ध महानिरीक्षकका आकाङ्क्षी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले निवेदन दायर गर्नुभएको थियो ।
सोमबार प्रधानन्यायाधीश कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन सोही दिन अर्को अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
दुवै निवेदनमाथि अदालतले यही फागुन ११ गते सुनुवाइ गर्ने छ । सो निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा निष्कर्ष निकालिनेछ ।