काठमाडौ ४ फागुन ।
स्थानीय तह पुनःसंरचनाका सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज मधेसी मोर्चाका नेतासँग छलफल गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय सिंहदरबारमा आज भएको छलफल आयोगको प्रतिवेदनका सम्बन्धमा विशेषगरी प्रदेश नम्बर २ मा देखिएका गुनासो सम्बोधन गर्ने सम्बन्धमा केन्द्रित बनेको थियो ।
छलफलका क्रममा समिति संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुनरसंरचनाका सम्बन्धमा लचकता प्रदर्शन गर्न मोर्चाका नेतालाई आग्रह गर्नुभयो ।
मोर्चाका भावना, अडान र सल्लाहलाई समेटेर सुझावका रुपमा सरकारलाई प्रतिवेदन दिने र तयस सम्बन्धमा शीर्ष तहमा पनि छलफल हुने समितिले जनाएको छ । छलफलमा सहभागी मोर्चाका नेताले आयोगले स्थानीय तह पुनःसंरचना गर्दा जनसंख्यालाई ध्यान नदिएकामा आपत्ति जनाएका थिए ।
समितिले प्रतिवेदनका सम्बन्धमा देखिएका गुनासा अध्ययन गरी भोलि सरकारलाई सुझाव दिने भएको छ । समिति संयोजक पाण्डेले विषेशगरी प्रदेश नम्बर २ का सांसदले दिएका सुझाव र अन्य जिल्लामा देखिएका गुनासा हल हुने गरी सरकारलाई सुझाव दिइने बताउनुभयो ।