काठमाडौ ४ फागुन ।
गृहमन्त्री विमलेन्द्र निधिले स्ववियु निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।
आगामी फागुन २४ गतेका लागि तोकिएको निर्वाचनमा अख्तियार गर्नुपर्ने सुरक्षाका बिषयमा छलफल गर्न आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।
गृहमन्त्री निधिले स्ववियु चुनावका लागि राजनीतिक तहमा छलफल भएको भन्दै मधेसी मोर्चाका नेताहरुसँग समेत यस बिषयमा पर्याप्त छलफल भएको जानकारी गराउनु भयो ।
छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखहरुको उपस्थिति थियो ।
छलफल कार्यक्रममा केही क्याम्पस प्रमुखहरुले सुरक्षा चुनौती रहेको भन्दै चुनावलाई केही दिन पर सारेर जानुपर्ने सुझाव राखेका थिए । तर, गृहमन्त्री निधिले भने तोकिएको चुनाव सार्नु राजनीतिक र शैक्षिक हिसाबले पनि उपयुक्त नहुने धारणा राख्नु भएको बताइएको छ ।