काठमाडौ ४ फागुन ।
डडेल्धुरामा आज दिउँसो भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकाम अमगढीका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप बगरगोठ रोडको ठुलोखोला नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मुत्यु भएको हो ।
दुर्घटनामा परी भागेश्वर–४ का गणेश सार्की, भागेश्वर–८ का जयानन्द भट्ट उनका छोरा लक्ष्मण भट्ट, भागेश्वर–५ का कामदेव चटौत र नरपति पाण्डेयको घटनास्थलमै ज्यान गएको हो ।
यस्तै गम्भीर घाइते भागेश्वर–५ का दिवाकर पाण्डेय र भागेश्वर–७ का पदमबहादुर मल्लको उपचारका क्रममा ज्यान गएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
उकालो घुम्तीमा चालकको लापरवाहीको कारण जिप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
घाईतेमध्ये गम्भिर अवस्थामा रहेका एक जनालाई उपचारका लागि धनगढीतर्फ लगिएको छ भने अन्यको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनास्थल सदरमुकामबाट करिव ७ किलोमिटर दुरीमा पर्दछ ।