काठमाडौ ३ फागुन ।
संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका तीन आयुक्तको नाम सर्वसम्मत् अनुमोदन गरेको छ । आजको बसेको समिति बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीन आयुक्तको नाम अनुमोदन गरेको हो ।
परिषदले निर्वाचन आयोगको सदस्यका लागि ईश्वरी पौड्याल, सुधीरकुमार शाह र नरेन्द्र दाहालको नाम सिफारिस गरेको थियो । पौडेल, शाह र दाहाललाई आज संसदीय समितिमा बोलाएर उनीहरुमाथि परेका उजुरीमाथि छलफल गरी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सुनुवाई समितिले अनुमोदन गरेसँगै पौडेल, शाह र दाहाल निर्वाचन आयोगको आयुक्तमा नियुक्त हुने बाटो खुला भएको छ । सुनुवाइका क्रममा समितिका सदस्यहरुले उनीहरुलाई निष्पक्ष ढंगले काम गर्न सुझाव दिएका छन् ।
सुनुवाइमा सिफारिसमा परेका तीनै आयुक्तहरुले इलेक्ट्रोनिक भोटिङ सिस्टमलाई देशभर लागू गराउने, विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिने व्यवस्था मिलाउन पहल गर्ने र निष्पक्ष निर्वाचनका कानुन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए ।