काठमाडौ ३ फागुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके वर्तमान सत्ता समीकरण परिवर्तन हुने बताउनु भएको छ ।
वैशाखको दोस्रो अथवा तेस्रो सातासम्म निर्वाचन हुने अवस्था नरहेमा पहिलेको सहमति अनुसार सत्ता समीकरण परिवर्तन हुने श्रेष्ठले बताउनु भयो ।
नेपाल प्रेस युनियनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले संविधानलाई लागू गर्नका लागि मधेसवादी दल, आदिवासी, जनजाति, पश्चिम तराईका थारु लगायतका माग सम्बोधन हुन आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
२०७२ सालको संविधान महिलामैत्री, जनजातिमैत्री, मधेसीमैत्री रहेका रहेको दावी गर्दै उहाँले संविधानमा भएका केही कमी कमजोरीलाई संशोधन मार्फत समेटेर बढ्नु पर्ने उल्लेख गर्नुभयो ।
मधेसवादी दल पनि पुरानै अवस्थामा निकायको निर्वाचन गर्दा उहाँहरु पनि सहमतिमा आउने देखिएको श्रेष्ठको भनाई छ । उहाँले अर्को वर्षको माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न नभएको अवस्थामा संवैधानिक संकट उत्पन्न हुने जिकिर गर्नुभयो ।