काठमाडौ २ फागुन ।
भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा हुन लागेको राज्यसभा चुनावलाई मध्यनजर गर्दै कञ्चनपुरसँग जोडिएका सीमा नाकाहरु ७२ घन्टाका लागि बन्द गरिएका छन् ।
आगामी फागुन ४ गते हुने राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव हिजो साँझदेखि नै बन्द गरिएका छन् ।
यस्तै दोधारा चाँदनी र बेलौरी सीमा नाका आज साँझदेखि बन्द हुने जनाइएको छ । चुनावलाई नै मध्यनजर गर्दै बेलडाँडी र त्रिभुवन बस्ती सीमा नाका मङ्गलबार साँझदेखि बन्द भएको छ ।
फागुन ४ गते साँझ ५ बजेसम्मका लागि भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो ।
चुनावमा कुनै अप्रिय घटना हुन नदिन भन्दै भारत सरकारको आग्रहमा सिमाना बन्द गरिएको हो । सीमा नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा पनि कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्रता दिइएको बताइएको छ ।