काठमाडौ २ फागुन ।
स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आजपनि काम ठप्प पारेका छन् ।
लामो समयदेखि चरणबद्ध आन्दोलनमा रहेका स्थानीय निकाय कर्मचारीहरुले आफूहरुको माग सम्बोधनका लागि सरकारले चासो नदिएको भन्दै हिजो बाट सम्पूर्ण काम कारबाही ठप्प पारेका हुन् ।
स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन् । जिविस कार्य झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न नदिएको बताइएको छ ।
कर्मचारीहरुको आन्दोलनका कारण जिविसमा हुने सबै काम बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । गाविस र नगरपालिकाबाट हुने दैनिकी कार्य विवाह दर्ता, जन्म दर्ता, सिफारिस जस्ता सबै काम पनि अवरुद्ध भएको छ ।