काठमाडौ १ फागुन ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजिपी नियुक्तिका विषयमा आफू संलग्न नभएको दावी गर्नुभएको छ ।
आइजिपी नियुक्तिका विषयमा केही सञ्चार माध्यमले आफ्नो नामलाई जोडेर समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको जनाउदै देउवाले आफ्नो संलग्नता नरहेको प्राष्ट पार्नुभयो ।
आज एक विज्ञाप्ती जारी गर्दै उहाँले प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै त्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पार्नुभयो ।
“कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु,” देउवाका तर्फबाट सहयोगी केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।