काठमाडौँ, २९ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानिय निकाय निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको सरकार निर्वाचन नगरे औचित्य समाप्त हुने बताउनुभयो ।
सरकारले संविधान कार्यान्वयन, मधेसी दलले उठाएका मुद्दा समाधान र निर्वाचन तालिका तत्काल सार्वजनिक गर्न उहाँको माग छ ।
अध्यक्ष थापाले संविधान कार्यान्वयन र निर्वाचन नभए संविधान पूर्ण असफल हुने बताउनुभयो । उहाँले मधेसी दलसँग वार्ता र निर्वाचनको मिति घोषणा एकैसाथ गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।
अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै महाधिवेशनले पार्टीको वैचारिक सैद्धान्तिक र भावी कार्य्दिशासम्बन्धी अवधारणा निर्धारण गर्नुका साथै एकीकृत पार्टीको विधान निर्माण र केन्द्रीय नेतृत्व छान्ने प्रष्ट पार्नुभयो ।
सोहि कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सुशासनको अभावले गर्दा मुलुक सङ्कटमा फस्दै गएको बताउनुभयो ।
डा महतले संविधान संशोधन गर्न मिल्दैन भन्ने नेकपा (एमाले)को अतिवादी सोचलाई छाड्न आग्रह गर्नुभयो । उहाँले हरेक नेताले आफ्नो व्यक्तिगत र दलगत पूर्वाग्रहलाई छाडेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो ।