काठमाडौ २८ माघ ।
नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन क्रान्तिकारी किसान संघको आजबाट राजविराजमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलन मधेसी मोर्चाका कार्यकर्ताले विथोल्ने प्रयास गरेका छन् ।
पटक पटक मधेस बिरोधी अभिव्यक्ति दिएको र मधेसको अधिकारको बाधक बनेको भन्दै उनीहरुले सम्मेलनमा अवरोध गरेका हुन् । राजविराजस्थित शिब मन्दिर प्राङ्गणमा कार्यक्रम शुरु हुनै लाग्दा मधेसी मोर्चाका कार्यकर्ता आएर नाराबाजी शुरु गरेका थिए ।
मोर्चाका कार्यकर्तालाई प्रहरीले रोक्न खोज्दा दुबै पक्षबीच केहिबेर सामान्य झडप समेत भएको थियो । सो क्रममा प्रहरीले दुई दर्जन भन्दा बढीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यद्यपि मोर्चाको बिरोधपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे भने राजविराज पुग्नु भएन । विजुक्छेले नै राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
विजुक्छे कार्यक्रम स्थल पुग्न नसक्नु भएपछि नेमकिपाका सचिव सुनिल प्रजापतिले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।