काठमाडौं, माघ २६ ।
राजधानीको शंखरापुरलाई छुट्टै नगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले आज प्रदर्शन गरेका छन् । शंखरापुर नगर नागरिक समाजको आह्वानमा स्थानीयले बिहान ५ बजदेखि १० बजेसम्म बजार बन्द गरी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप हुदा तीन जना स्थानीय घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले पक्राउ गरेपछि झडप भएको हो । त्यस क्रममा स्थानीयले १० वटाभन्दा बढी सवारी साधन तोडफोड गरेका छन् ।
स्थानीय बासिन्दाले ऐतिहासिक महत्व बोकेको शंखरापुरलाई छुट्टै नगरपालिका कायम गर्न माग गरेका छन् । स्थानीय निकाय पुनर्संरचना आयोगले शंखरापुरलाई कागेश्वरी मनहरा नगरपालिकामा गाभ्ने निर्णय सहितको प्रतिवेदन सरकारलाई बुझाएपछि स्थानीय आन्दोलित भएका हुन् ।
आन्दोलनमा सबै राजनीतिक दलका स्थानीय नेताको समर्थन रहेको नेपाली कांग्रेस संखरापुर नगर सभापति दिलिप श्रेष्ठले जानकारी दिनु भयो । माग पूरा नभए अझ कडा आन्दोलन गर्ने चेतावनी राजनीतिक दलका नेताहरुले दिएका छन् ।