प्यूठान ,२५ माघ ।
अभिबादन (स्याल्युट) नगरेको भन्दै डिएसपिले ट्राफिक हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई हातखुट्टा बाधेर हत्कडि लगाई कुटपिट गरेका छन् ।
जिल्लाका प्रमुखहरुलाई अभिबादन (स्याल्युट) नगरेको भन्दै ट्राफिक हवल्दारलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरिएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धानका डिएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी ईन्द्रप्रसाद बस्याल चेरनेटाबाट जिल्ला प्रशासनको गाडीमा सोमबार दिउँसो आउदै गर्दा सवारी चेकजाँचमा बसेका ट्राफिक हवल्दार डिसीलाई अभिवादन नगरेको आरोपमा कुटपिट गरिएको हो ।
डिएसपि राठौरले जिल्लाका प्रमुखहरुलाई अभिबादन (स्याल्युट) किन नगरेको भन्दै कुटपिट गरेका हुन् । बेलुका इलाका प्रहरी कार्यालय बिजुवारको गाडिमा लगेर जिल्ला प्रहरी कार्यालयमा हत्कडी लगाइ आफूलाइ कुटपीट गरेको हवल्दार डिसीले बताए ।
साइरन बजाउँदै आएको गाडिलाई पनि देखिनस् भन्दै हत्कडी लगाएर कुटपीट गरेको हवल्दार डिसीले बताए ।
उनले भने मलाई गुन्डालाई जस्तै गरियो । नदेखेर अभिबादन नगरेको कुरा बिनय गर्दागर्दै हात खुट्टा बाधेर कुट्नुभयो ।’
स्वाथ्य परिक्षण गरि चार घन्टा बर्दिमै हिरासतमा राखेर छोडेको डिसीले बताए । सधै जिल्ला ट्राफिक कार्यालय देविस्थानमा जानकारी गराएर काममा जाने गरेको डिसीले बताए । कुटपिटमा उनको देब्रे हात मर्केको छ । जिल्ला अस्पताल बिजुवारमा मंगलबार एक्सरे गरि प्लास्टर गराएको उनले बताए ।
’सुरुमा गालामा हिर्काउनुभो,’ उनीसँगै गएका ट्राफिक जवान नारायण चौधरीले भने, ‘पछि तथानाम गाली गर्दै हिर्काउनुभो ।’ उनका अनुसार ट्राफिक क्षेत्रीय कार्यालय कोहलपरमार्फत डिआइजी माधव नेपाललाई कुटपिटको खबर सुनाएपछि बल्ल डिसीलाई नेपालको निर्देशनमा हिरासतबाट मुक्त गरिएको थियो ।
यसबारे जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जितसिह राठौरले धेरै पटक सम्झाउँदा पनि अटेर गरेपछि बोलाएर सामान्य केरकार मात्र गर्न खोजेको बताए । बाहनाबाजी बनाएर हात भाचिएको हल्ला गरेको भन्दै उनले जिल्लाको चेन अफ कमान्ड नमान्दा हुने समस्याको बारे मात्रै बुझाउन खोजेको जनाए ।