काठमाडौ २३ माघ ।
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको दबाई खाएर आएका कारण देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डता कमजोर परेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले चितवनले आज पार्टी कार्यालय मदनपुरमा आयोजना गरेको पार्टी कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले माओवादी केन्द्र र अहिलेको सरकारले देशलाई बिखण्डनमा लैजान खोजेको टिप्पणी गर्नुभयो ।
वर्तमान सरकार निर्वाचन गराउनका लागि गठन नभएको दावी गर्दै नेता खनालले संविधान जारी गर्न नदिने तत्वको योजना पुरा गर्न तथा संविधान कार्यान्वयनमा भाँजो हाल्नका लागि यसको रचना गरिएको टिप्पणी गर्नुभयो ।
माघ ७ गते भित्र ३ तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक संकटमा उत्पन्न हुने भन्दै उहाँले संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको बखेडा झिकेर देशलाई दीर्घकालिन द्वन्द्वमा लैजाने प्रयास भैरहेको आरोप लगाउनु भयो ।
नेता खनालले हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुन नसक्ने भन्दै यहाँका मौलिक भाषा भोजपुरी, मैथिली, अवधी र थारु भाषा मास्ने षडयन्त्र गरिएको जिकिर गर्नुभयो ।
एमालेको नीति, उदेश्य र योजना नेपालको माटो सुहाउँदो भएको दावी गर्दै बरिष्ठ नेता खनालले एमाले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनको गंगा नदी भएको टिव्वणी गर्नुभयो ।