काठमाडौ २३ माघ ।
म्याग्दीको पश्चिमी क्षेत्र ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी फेला परेको छ । सडक निर्माणका क्रममा घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आकर्षक ढुङ्गा फेला परेको स्थानीयले बताएका छन् ।
जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्ड अन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीयवासी उत्साहित भएका छन् । ढुङ्गा खानी भेटिएपछि प्रारम्भिक व्यवस्थापनका लागि स्थानीय रेशम छन्त्यालको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।
यस्तै स्थानीयवासीले ढुङ्गा उत्खनन कार्य समेत थालेका छन् । सडक आसपासका लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ ।
बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने देखिएको छ । ढुङ्गाखानीलाई व्यावसायिक रुपमा सञ्चालन गरी गाउँमा रहेको भूमे निमावि सञ्चालन सहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयवासीको भनाइ छ ।
सडकका दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकम लगायत क्षेत्रबाट समेत माग आउन थालेको छ ।