काठमाडौँ, माघ २३।
द्वन्द्वकालीन घटनाको छानबिनका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोगले कार्यकाल थप गर्न आज सरकारलाई पत्राचार गर्दै छ ।
आयोगको कार्यकाल थप गर्ने विषयमा पदाधिकारीबीच केही फरक मत भए पनि आज म्याद थपको औपचारिक पत्राचार हुन लागेको आयोग सदस्य श्रीकृष्ण सुवेदी जानकारी दिनु भयो ।
द्वन्द्वकालमा नै बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगले भने माघ १२ गते नै म्याद थपका लागि पत्राचार गरिसकेको छ । बेपत्ता पारिएका व्यक्तिको खोजबिन तथा सत्य निरुपण आयोग गठन ऐनले आयोगको कार्यकाल दुई वर्ष तोेकेको छ ।
दुवै आयोगले अहिलेसम्म द्वन्द्वकालीन घटनामा उजुरी सङ्कलन गरेका छन् । उजुरी सङ्कलनपछि प्रारम्भिक अनुसन्धान गरिसकेका छन् । बेपत्ता आयोग विस्तृत तथ्य सङ्कलनको चरणमा छ भने सत्य निरुपण घटना अनुसन्धानको तयारीमा छ ।
बेपत्ता आयोगमा दुई हजार ८७४ उजुरी छन् । यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगमा ५८ हजारभन्दा बढी उजुरी छन् । सरकारले शान्ति सम्झौताको आठ वर्षपछि २०७१ माघ २७ गते दुई आयोग गठन गरेको थियो । आयोगको दुईवर्षे कार्यकाल सकिन अब एक सातामात्र बाँकी छ ।