क्यान्सरको उपचारका लागि प्रदान गर्ने एक लाख सहयोग हात्तीको मुखमा जिरा !

क्यान्सरको उपचारका लागि प्रदान गर्ने एक लाख सहयोग हात्तीको मुखमा जिरा !

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।  क्यान्सरसम्बन्धी छुट्टै अस्पताल, उपचारमा थपिएका प्रविधि, क्यान्सर रोगसम्बन्धी चिकित्सक दैनिक बढिरहे पनि क्यान्सर रोग लागेर अस्पताल आउने बिरामी भने घट्न सकेका छैनन् ।   यसबारे के भन्छन् त क्यान्सर रोग बिशेषज्ञ चिकित्सकहरु । 
डा. राजेन्द्र बराल, बयोधा अस्पताल 
नेपालमा क्यान्सर रोगका सम्बन्धमा खास नीति बनेको छैन। क्यान्सररोगीको अभिलेखको व्यवस्था छैन। यद्यपि अस्पतालमा दर्ता सुरु भएको छ। त्यसलाई आधार मानेर अखिलेख राख्ने काम भएको छ।
यो त अस्पतालका तर्फबट भएको हो। त्यो अस्पतालले मात्र अभिलेख राखेर हँुदैन। यसको अभिलेख राज्यसँग हुनुपर्छ। क्यान्सर रोगका बारेमा पहिलाभन्दा अहिले जनचेतना बढेको छ। पहिला ‘क्यान्सर नो एन्सर’ भन्ने थियो।
अहिले त्यस्तो छैन। क्यान्स मुटु वा मिर्गौलाभन्दा फरक रोग हो। मुटु वा मिर्गौला कि ठीक हुन्छ, कि हँुदैन। तर क्यान्सरलाई त्यसो भन्न सकिँदैन। यो लामो समयसम्म पनि रहन्छ।
अहिले सरकारले क्यान्सरको उपचारका लागि प्रदान गर्ने एक लाख सहयोग हात्तीको मुखमा जिराजस्तो भएको छ। यो सहयोग रकम बढाउनुपर्छ। नेपालमा क्यान्सरको सबैभन्दा ठूलो कारकचाहि सुर्तीजन्य पदार्थको प्रयोग हो।
अहिले भुटानलाई सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गरिएको छ। नेपालमा पनि यो लागू गरे क्यान्सर रोगमा धेरै कमी आउँछ। सरकारले चाहने हो भने ४/५ वर्षभित्रमा यो लागू हुनसक्छ।
डा. एसपी पण्डित, वीर अस्पताल 
क्यान्सरका बारेमा हामी धेरै केन्द्रमा बसेर नै छलफल चलाउँछौं। यो छलफललाई विकेन्द्रित गर्नुपर्छ। अहिले नेपालमा कति क्यान्सरपीडित छन् भन्ने विषयमा सरकारी क्षेत्र र निजी क्षेत्रबीच समन्वयको अभावले यकिन गर्न सकिएको छैन।
पहिले भारतका अस्पतालमा जँचाएर आएको क्यान्सरपीडितले लुकेर हिँड्नुपर्ने अवस्था थियो। तर अहिले त्यो क्रम घट्दै गएको छ। अहिले यो विषयमा चेतना पनि विकेन्द्रीकरण हुँदै गएको छ।
एकातिर क्यान्सरविज्ञ चिकित्सकको अभाव छ भने अर्कोतिर हामीले उत्पादन गरेको जनशक्ति जागिर नपाएर बिदेसिएको अवस्था छ। सरकारले क्यान्सर उपचारका लागि उपलब्ध गराएको सहयोग अपुग छ।
हामीसँग रहेको जनशक्ति क्यान्सर रोगको उपचार गर्न दक्ष छ। तर आधुनिक उपकरण अभावले जनताले हामीलाई सजिलै स्वीकार गरेका छैनन्। क्यान्सर उपचारका लागि हामी नेपालबाट भारत जान्छौं।
तर भारतबाट किन नेपाल आउँदैनन्? सरकारले निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरिदिनुपर्छ। सरकारी अस्पतालमा दक्ष जनशक्ति छन्। तर उनीहरूले निजीमा जस्तो प्रचार खोज्न मिल्दैन।
डा. वाईपी सिंह 
विगतमा भन्दा क्यान्सरका क्षेत्रमा हुने उपचारमा प्रगति भएको छ। हामी कुन तहमा पुग्यौं, यस विषयमा विश्वास दिलाउन सक्यौं कि सकेनौं, यो एउटा प्रश्न बनेको छ। तर यसका लागि नीतिको आवश्यकता पर्छ।
अहिले हामी पुरानै रेडियोथेरापी प्रयोग गरिरहेका छौं। हामीले प्रयोग गर्ने रेडियोथेरापी पुरानै भएकाले पीडितहरू भारतमा जान बाध्य छन्।
डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघ 
विगत २० वर्षमा क्यान्सर रोगको उपचारमा ठूलो फड्को मारिएको छ। यसका लागि दक्ष जनशक्ति उत्पादन भएको छ। उत्पादन भएको जनशक्ति बाहिरभन्दा कम योग्य छ भन्ने मलाई लाग्दैन।
स्वास्थ्य मन्त्रालयले अरू सबै रोगीको तथ्यांक संकलन गर्छ। तर अहिलेसम्म क्यान्सरको तथ्यांक छैन। मन्त्रालयले संख्या संकलनका लागि पठाउने फाराममा क्यान्सरको महल छैन।
हामीले धेरैपटक त्यो महल राख्न अनुरोध गर्‍यौं। बिरामीलाई एक लाख, दुई लाख दिएर उपचार सम्भव छैन। जहाँसम्म विदेश जाने कुरा छ, यसमा कि पारिवारिक नाताले काम गरेको छ कि त पैसाले काम गरेको छ।
उपचारका लागि विदेश जाने प्रवृत्ति रोक्न निकै अभ्यास गर्नुपर्छ। तर पैसा हुनेलाई त कसले रोक्न सक्छ? विगतमा राजाहरू खोकी लाग्दा पनि उपचारका लागि लन्डन नै जाने गरेका थिए।
प्रकाश तिवारी, कान्ति बाल अस्पताल 
बालबालिकामा लाग्ने क्यान्सर उपचार पाएको खण्डमा ८० प्रतिशत निको हुन्छ। क्यान्सरका बारेमा हाम्रो धारणामा समेत परिवर्तन आएको छ। स्रोतसाधनमा समेत बढोत्तरी छ।
सबै सरकारको मुख ताकेरमात्र हुँदैन। आफैंले स्रोतसाधनको समेत परिचालन गर्नुपर्छ। हामी पनि अस्पतालको सटर भाडामा दिन्छौं र त्यसबाट नि:शुल्क औषधि वितरण गर्छौं।
डा. प्रकाश न्यौपाने, भक्तपुर क्यान्सर अस्पताल 
अहिलेको क्यान्सर ३० वर्षअगाडिको टीबीजस्तो हो। यसैगरी अगाडि बढेमा १० वर्षपछि क्यान्सर भन्ने कुनै रोगै होइन भन्ने मान्यता स्थापित हुन्छ। यसमा सबैले आआफ्ना तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ।
सरकार, चिकित्सक, र मिडियाको आआफ्नै भूमिका हुन्छ। भारतमा उपचार गर्न जाने मानिस त छन् तर त्यहाँ गएर आएकाहरू अब गएर नकाम गरिएछ र अब जान्नँ भन्ने पनि मैले भेटेको छु।
नेपालमा आँखाको उपचारले सबैभन्दा बढी फड्को मारेको छ। सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख सानो रकम होइन।
क्यान्सर रोगीका लागि एक रुपैयाँ पर्ने औषधिको एक रुपैयाँ ५० पैसा पर्छ। यसमा लागत मूल्यमा नै उपलब्ध गराउने हो भने महँगो पर्दैन।
तर डाक्टरका लागि पनि त व्यवस्था गर्नुपर्‍यो। उसले पनि त जिउ पाल्नुपर्‍यो। शाखा अधिकृतको तलबले डाक्टरको जिउ त पालिँदैन।
डा. सरिता घिमिरे, नेपाल क्यान्सर केयर फाउन्डेसन 
क्यान्सर रोगका सम्बन्धमा अहिले डाक्टर उपचारकै पाटोमा बढी केन्द्रित भइरहेको पाइन्छ। रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेमा कसैले चासो दिएको पाइन्‍न।
बचावटका सम्बन्धमा जुन तहसम्म चेतना पुर्‍याउनुपर्ने हो, त्यो नपुगेको देखिन्छ। नेपालमा उपलब्ध क्यान्सर अस्पतालको तथ्यांकअनुसार महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्छ।
तर बेलैमा सजग भएर नियमित जाँच गराउने हो भने क्यान्सर लाग्नुभन्दा निकै अगाडि नै यो पत्ता लगाउन सकिन्छ। यसका लागि आफूलाई केही भएको छैन भने पनि डाक्टरकहाँ जानु जरुरी हुन्छ।
प्याप स्मेयर टेस्ट र भीआईए टेस्टमार्फत यो क्यान्सर पत्ता लगाउन सकिन्छ। प्याप स्मेयर टेस्टका क्रममा बीचमा केही ‘इरर’ आउने सम्भावना भए पनि भीआईए टेस्टमार्फत शतप्रतिशत ढुक्क हुन सकिन्छ।
ह्युम्यान प्यापिलोमा भाइरस नै यो रोगको मुख्य कारक तत्त्व हो। धेरैजसोमा भाइरस संक्रमण भइसकेपछि पनि हराएर जान सक्छ। शारीरिक सम्पर्कबाट यो भाइरसको संक्रमण हुने सम्भावना हुन्छ।
दुई वर्षभित्र पनि यो भाइरस हराएर गएन भने संक्रमणको सम्भावना हुन्छ। त्यसैले ३० वर्षदेखि ६० वर्षसम्मका महिलाले भीआईए टेस्ट गरेर यसको पत्ता लगाउन सक्छन्।
डा. विशेष पौडेल, रक्तक्यान्सर विशेषज्ञ 
सिभिल सर्भिस हस्पिटल 
हरेक अस्पतालबाट प्रतिनिधित्व गर्ने गरी डाक्टरको समूह मिलाएर ट्युमर बोर्ड बनाउनुपर्छ। उपचारमा एकरूपता हुनुपर्‍यो।
हामीले एउटा अस्पतालमा जुन उपचार गरिरहेका छौं, नेपालभरका जुनसुकै अस्पतालमा पनि त्यहीअनुसार उपचार गराउन यही ट्युमर बोर्डमार्फत छलफल गरी निश्चित तथ्यांक पनि निकाल्न सकिन्छ।
क्यान्सरमा काम गर्ने डाक्टरबीच समन्वय गरेर अगाडि बढे उपचारमा सहजता हुन्छ। क्यान्सर त्यसमा पनि रगतको क्यान्सरका बिरामीका लागि त उपचार एकदमै गाह्रो र महँगो छ।
अबको पाँच वर्षभित्र त झन् औषधि किन्नै नसकिने हुनसक्छ। त्यसैले देशमा जबसम्म बिमानीति आउँदैन, तबसम्म उपचार गर्न सजिलो हुन्छजस्तो मलाई लाग्दैन। सरकारले हाम्रो कामलाई प्रोत्साहन गर्नुपर्छ।
मैले नै सन् २०१२ मा बोन म्यारो ट्रान्सप्लान्ट गरेको थिएँ। तर अर्को गर्नलाई हरेकपटक सरकारको ढोका घचघच्याउन जानुपर्ने अवस्था छ। हामीले पहिलोपटक निजी अस्पताल नोबेलमा गरेका थियौं।
तर पछि निजीमा गर्न नदिने भन्ने कुरा चल्यो। हाल सिभिलमा मात्रै गर्न पाइने भन्ने छ। हामीलाई पनि सरकारी अस्पतालमा गर्न कुनै समस्या छैन। तर यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार सरकारले व्यवस्था गरिदिनुपर्छ।
डा. गिसुफ निख प्रसिका, ओम हस्पिटल 
सरकारले क्यान्सरका बारेमा सोच्दै नसोचेको भन्ने होइन। भरतपुरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुरु हुँदा ऐन पनि सँगसँगै आएको थियो।
सरकारले प्रिभेन्सन, स्क्रिनिङ, ट्रिटमेन्ट र रिह्याबिलिटेसनको कुरादेखि उपचारमा आउने प्रविधिलाई नियन्त्रण गर्ने कुरा पनि ऐनमा उल्लेख गरेको छ। तर विभिन्न कुराले गर्दा ऐन कार्यान्वयन हुन नसकेको मात्रै हो।
सरकारले ऐन त ल्यायो तर कार्यान्वयन भएनभएको हेर्ने कुनै निकाय छैन। क्यान्सर अस्पताललाई अधिकार त दिएको छ तर त्यसलाई प्रयोग गर्ने संयन्त्र दिएको छैन।
रक्तचाप, मधुमेह, क्यान्सरलगायत संक्रमण नभएका रोग नेपालमा मात्रै नभई विश्वभर बढ्दै गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ। ३५ प्रतिशत क्यान्सर बचावट हुनसक्ने खालका छन्।
सुर्तीजन्य पदार्थ र रक्सी प्रयोग नगर्ने, नियमित व्यायाम गर्ने र विभिन्न खोप लगाउनाले यस्ता क्यान्सरबाट जोगिनसक्ने अवस्था छ। अहिले विभिन्न १० वटा अस्पतालमा हस्पिटल बेस्ट रजिस्ट्री हुने गरेको छ।
तर पब्लिक बेस्ट रजिस्ट्री भए मात्रै कति केस छन् र कस्ताकस्ता छन् भन्ने पत्ता लाग्न सक्छ।
यसका लागि सरकारले नै नेतृत्व लिई निजी संघसंस्थालाई पनि समेट्दै लैजानुपर्छ। नेपालजस्तो गरिब मुलुकमा उपचारका साथै बचावट, जनचेतना र स्क्रिनिङको पाटोमा पनि ध्यान दिनु उत्तिकै जरुरी देखिन्छ।
बद्रीनाथ पोखरेल, 
केन्द्रीय सदस्य, नेपाल क्यान्सर रिलिफ सोसाइटी 
उपचारभन्दा अगाडि हाम्रो संस्था यस्तो अवस्थामा जन्मियो, जुन अवस्थामा कसैको घरमा क्यान्सर लाग्यो भने छिमेकी पनि रुवाबासी गर्थे।
४३ जिल्लामा जिल्ला शाखा स्थापना गरेर क्यान्सर लाग्नबाट कसरी बच्न सकिन्छ भनेर सचेतना कार्यक्रम गरिरहेका छौं। यसरी हामी ७५ वटै जिल्लामा जाँदैछौं।
अहिले क्यान्सरको मात्रै उपचार गर्ने दुईवटा अस्पताल छन् : भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल। भक्तपुर क्यान्सर अस्पताल हाम्रै संस्थाले सञ्चालन गरेको हो।
उपचारका लागि कम्तीमा पाँचवटा सेन्टर हुनुपर्छ भनेर हामीले विभिन्न कार्यक्रममार्फत दबाब दिइरहेका छौं।
औषधिउपचार खर्च भनेर एक लाखसम्मको दिइए पनि त्यो एकदमै न्यून छ। त्यसलाई सकेसम्म नि:शुल्क गर्नुपर्छ। यसो गर्न नसके पनि केही एउटा उपचारमा आधा वा २५ प्रतिशत भए पनि सरकारको सहयोग होस् न।
एक लाखले त उसको बाटोखर्च पनि पुग्दैन। उपचारका लागि बाहिर जानेमा कतिपयको पारिवारिक सम्बन्ध भएकाले पनि जान चाहन्छन्।
प्रधानमन्त्री सुशील कोइरालाको दाग मात्रै देखिँदा पनि यहाँका डाक्टरले नै उता पठाए। नेपाल अर्बुद रोग निवारण संस्थाको चाहना भनेको २०२० सम्ममा सुर्तीरहित समाज सिर्जना गर्नु हो।
हाम्रो संस्थाले नेपालमा पहिलोपटक ट्युमर बोर्ड स्थापना गरेर प्रत्येक महिनाको दोस्रो शनिबार होटेल अन्नपूर्णमा धेरै डाक्टर भेला गराएर आफूले उपचार गर्दाको अनुभव साटासाट गराएको छ।
प्रतिमा माथेमा ज्यापु, कलाकार 
मेरो श्रीमान् (कलाकार उज्ज्वलकुन्दन ज्यापू) लाई क्यान्सर लागेपछि उपचारका लागि कहाँ जाने भन्नेमा निकै अन्योल भयो। मैले डा. कपिन्द्रलाई भेटेपछि केही जानकारी पाएँ।
हामीले वीर अस्पतालमा केमो सुरु गरिसकेका थियौं। तर त्यतिबेलासम्म मलाई क्यान्सर लागिसकेपछि केमो, रेडिएसन र अपरेसन गर्नुपर्छ भन्ने थाहै थिएन।
मजस्तो केही अक्षर जानेकाले त यस्तो समस्या भोग्नुपर्‍यो भने अरूलाई कस्तो होला? पछि मलाई कपिन्द्रले भक्तपुर क्यान्सर अस्पतालमा जान सल्लाह दिनुभयो। त्यहाँ डा. प्रकाशलाई पनि भेटें।
उहाँहरूले मलाई राम्रो परामर्श दिनुभयो। यो रोग लागेपछि के हुन्छ, कति समय बाँकी छ र कस्तो उपचार गर्ने भन्ने कुराको सल्लाह मैले पाएँ। तर त्यो हरव्यक्तिले पाउलानपाउला।
सुरुमा जाँदा मलाई जम्मा नौ महिना मात्रै बाँकी छ भनेको थियो। तर मैले पाँच वर्षसम्म उहाँलाई बचाएँ। पछि पेट स्क्यानको मेसिन नेपालमा छैन, भारत गएर बनाएर ल्याउनु भन्नुभयो।
सुरुका दिनमा मैले डा. सुधीर र डा. बराल भन्ने नाम त सुनेकी थिएँ तर उहाँहरू को हो र कहाँ हुनुहुन्छ भन्ने पत्ता नै लगाउन सकिनँ। क्यान्सर भैसकेपछि केके गर्नुपर्छ भन्ने अझै कतिलाई थाहा नहुन सक्छ।
मैले परेर मात्रै थाहा पाएँ। अप्रेसन गर्न पनि एक महिना, दुई महिना र तीन महिना गरी थुप्रैपटक मिति स:यो। अप्रेसनका लागि थुप्रै डाक्टर छन् तर कुन डाक्टरकहाँ जाने त भन्ने द्विविधा रह्यो।
त्यसैले बिरामी र डाक्टरबीचको संवाद राम्रो हुनुपर्छ। उहाँ एउटा प्रसिद्ध कलाकार हुँदा पनि मैले त्यो पाउन सकिनँ। डा. सन्ध्याले मलाई यहाँ जानुस्, उता जानुस् भनेपछि मात्रै मैले मेसो पाएँ।
त्यसैले जसले बिरामी स्याहार्छ, उसलाई तिमी यसो गर, उसो गर भनेर डाक्टहरूले राम्रोसँग काउन्सिलिङ गर्नुपर्छ। बिरामीका लागि डाक्टर भगवान् नै हो। उसलाई हेलो भनेर एकपटक छोइदिए मात्रै पनि उसको आत्मविश्वास बढ्छ।
प्रभु राज वैद्य, औषधि व्यवसायी 
हामी कहाँ स्वास्थ्य क्षेत्रका व्यक्तिले समूहमा काम गर्ने बानी छैन। त्यसैले धेरै विरामी उपचारका लागि भारततर्फ आकर्षित हुन्छन्। पैसा खर्च गर्न सक्नेहरू भारत जान्छन्।
भारतका अस्पतालको दाँजोमा हामी छैनौं। धेरै जसो विरामीमा मनोवैज्ञानिक असर परेको छ। नेपाली डाक्टर भन्दा भारतमा लामो समय काम गरिरहेका डाक्टरको विश्वास बढी गरिन्छ।
प्रदीप केसी, स्वास्थ्य मन्त्रालय 
स्वास्थ्य नीति बनाउन विज्ञ डाक्टरसँगको सहकार्यमा कमी छ। कुन रोगलाई प्राथमिकता दिने भन्ने कुराको छलफल पनि विज्ञबाटै हुनुपर्छ। भक्तपूर, चितवन र धरानका क्यान्सर अस्पताल, वीर अस्पताल र क्यान्सर केयर नेपालमा क्यान्सरकै उपचारका निम्ति मन्त्रालयबाट पैसा जान्छ।
यस आर्थिक वर्षमा अहिलेसम्म स्वास्थ्यमा ११ करोड रुपैयाँ खर्च भइसकेको छ। स्वस्थ्य वीमाको नीति अन्तिम चरणमा पुगेको छ। क्यान्सरको उपचारमा सरकारले विपन्न विरामीलाई एक लाख रुपैयाँ सहयोग गर्ने गरेको छ। यसलाई नि:शुल्क कुनैपनि हालतमा गर्न सकिँदैन।
विशाल पन्डित, उपकरण व्यवसायी 
नेपालमा पनि स्वास्थ्य सम्बन्धी उपकरणमा नयाँ प्रविधि आएको छ। नयाँ प्रविधिलाई सबैले प्रोत्साहन गर्दैनन्।
हाम्रो नकारात्मक सोचिहाल्ने बानी छ। प्रशंसाभन्दा आलोचना बढी गरिन्छ।
सरकारले नयाँ प्रविधिमा रुची देखाएको छ। यो सकारात्मक कुरा हो। मेशिनको विषय स्पष्ट प्राविधिक विषय भएकाले यसमा बदमासी भएको छैन।
यो क्षेत्रमा आफ्नो आचारसंहिता छाडेर काम गर्ने संभावना छैन।
क्‍यान्‍सर रोगलाई कम गर्न र उपचार सहज बनाउन विभिन्‍न संघसंस्‍थाले कार्यक्रम गरिरहेका छन्। रोटरी क्लबले राजधानीमा साताको एकपटक क्‍यान्‍सर परीक्षण  गर्दै आएको छ।
अहिले भइरहेकझ प्रयासले  बिरामीलाई नेपालमै उपचार सम्‍भव भएको  आश्‍वासन मिलेको छ। स्वदेशमै उपचार हुने आश्‍वासन पाएपछि बिरामीको आधा रोग त्‍यसै निको हुन्‍छ। साभार :अन्नपुर्ण पोष्ट दैनिक 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी