काठमाडौ २० माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्ने बताउनु भएको छ ।
अखिल नेपाल किसान महासंघले आज राजधानीमा आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै उहाँले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो ।
नेपाली किसानहरुमा अझै पनि पुरानो पद्धति अनुसार खेती गर्ने बानी रहेको भन्दै अध्यक्ष ओलीले नयाँ प्रविधि प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले भूमिमा असमान वितरणले वास्तविक कृषकसँग भूमिको पहुँच नभएको भन्दै भूमिको समान वितरण गरी राज्यले कृषकलाई भूमि उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
केही वर्षयता हाउजिङ र प्लटिङका नाममा उर्वर भूमिलाई नष्ट पार्ने काम भइरहेको भन्दै त्यसलाई तत्काल रोक्नमा सम्बन्धित पक्ष लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका १५ किसान सङ्गठनका अगुवाको सहभागिता छ ।