साउदीमा नेपालीले दुतावासको कमजोरीका कारण ७ वर्ष जेल बस्नु परेको गुनासो

साउदीमा नेपालीले दुतावासको कमजोरीका कारण ७ वर्ष जेल बस्नु परेको गुनासो

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, १८ माघ । साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा ११ जना निर्दोष नेपालीले अनाहकमा सात वर्ष जेल सजाय भोग्नुपरेको भन्दै पीडितले न्यायको माग गरेका छन् ।

सन् २०१० फेब्रुअरीमा पक्राउ गरी साउदीको जेद्दा जेलमा सात वर्षको जेल जीवन बिताएर डेढ महिनाअघि नेपाल फर्किएका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेर आफूहरूलाई क्षतिपूर्ति दिन आग्रह गरेका हुन् ।

पीडितले साउदी अरबस्थित नेपाली दूतावासका पूर्वराजदूत र कर्मचारीले पहल नगरेका कारण आफूहरूले यस्तो सजाय भोग्न बाध्य भएको भन्दै दूतावासका तत्कालीन अधिकारीलाई कारबाहीको मागसमेत गर्नुभयो ।

पक्राउ परेको साढे पाँच वर्षपछि त्यहाँको अदालतले उनीहरूलाई दुई वर्षदेखि पाँच वर्षसम्मको जेल सजायको फैसला गरेको थियो ।

रुपन्देहीका भक्तबहादुर दर्जी, नवलपरासीका कृष्णबहादुर दमाईं, रसुवाका सोम तामाङलाई दुई वर्ष, सुनसरीका चक्रबहादुर गुरुङ, तनहुँका केशबहादुर नेपालीलाई तीन वर्ष, ओखलढुङ्गाका वीरबहादुर बुढाथोकी, धादिङका रामबहादुर तामाङलाई चार वर्ष तथा भोजपुरका श्रीकुमार राई, झापाका दीपेन शेर्मा र मोरङका भीमप्रसाद चिमौरियालाई पाँच वर्षको जेल सजाएको फैसला साउदीका अदालतले गरेका थिए । तर उनीहरू सबैलाई पक्राउ गरेको सात वर्षपछि डेढ महिनाअघि मात्रै रिहा गरिएको थियो ।

विसं २०६८ मा पीडितका परिवारले सामूहिक रूपमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरे पनि रिहाइका लागि पहल नभएको गुनासो उनीहरूको छ । पक्राउ सबैलाई हतकडी सहित विमान स्थलमा ल्याएर जहाजमा राखी नेपाल पठाइएको पीडित भीमप्रसाद चिमौरियाले बताउनुभयो ।

उहाँले भन्नुभयो–“साउदी अरबस्थित नेपाली दूतावासले बेलैमा पहल गरेको भए हामी एक÷दुई महिनामै छुट्न सक्थ्यौँ तर कर्मचारीको लापरबाहीका कारण बिनाकारण सात वर्ष जेल बस्नुप¥यो ।”

जेलमा आफूहरूलाई करेन्ट लगाउने र बेहोस बन्ने गरी कुटपिट गर्ने गरेको पीडितले प्रधानमन्त्रीलाई सुनाए । जेल जीवनमा आफूहरूलाई पेटभरि कहिल्यै खानसमेत नदिएको पीडित चिमौरियाले दुखेसो पोख्नुभयो ।
यसैबीच पक्राउ परेका ११ मध्ये एक नेपालीको जेल जीवनकै क्रममा मृत्यु भएको उनीहरूले जानकारी दिनुभयो ।

मधुवन, सुनसरीका उमेश श्रेष्ठको जेलमा यातनाकै कारण मानसिक सन्तुलन गुमाएको र सोही क्रममा मृत्यु भएको उनीहरूले जानकारी दिए । मृतक श्रेष्ठको शव अझै नेपाल नल्याइएको दाबी उनीहरूको छ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई साउदी सरकारबाट क्षतिपूर्ति दिलाउन सरकारले कूटनीतिक पहल गर्ने बताउनु भयो ।

पीडितको संरक्षक र अभिभावक सरकार भएको भन्दै उहाँले सरकारीस्तरबाट समेत राहत दिलाउन आफूले भूमिका खेल्ने बताउनुभयो । मृतक उमेश श्रेष्ठको शव ल्याउनसमेत तत्कालै प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो विषयमा नेपालको साउदी अरबस्थित दूतावासबाट विवरण लिने र दूतावासको कमजोरी देखिए सम्बद्ध अधिकारीलाई कारबाही प्रक्रिया अगाडि बढाउने समेत उहाँले जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी