काठमाडौ १७ माघ ।
जिल्ला बाल कल्याण समिति भक्तपुरले ईटा भट्टामा काम गर्दै आएका आठ जना बालकको उद्धार गरेको छ । समितिले महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा आज दिउँसो बालकहरुको उद्धार गरेको हो ।
चागुँनारायण नगरपालिका–१७ झौखेल स्थित माता चिम्नीको ईट्टा उद्योग र नगरकोट नगरपालिका ४ सुडाल स्थित महेश्वरी ईटा उद्योगमा कार्यरत बाल श्रमिकको उद्धार गरि एक गैरसरकारी संस्थाको जिम्मा लगाएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।
उद्धार गरिएका बालकहरुमा सल्यान हिड्गौरका १३ वर्षीय ललित कुँवर, सल्यान जयतपानी–२ मनडाँडा का १३ वर्षीय मनबहादुर कुँवर, सल्यान हिड्गौर लक्ष्मीपुर–९ का १३ वर्षीय पूर्णबहादुर कुँवर र सल्यान माझडाँडा–५ का १४ वर्षीय चन्द्र बहादुर विक तथा सल्यान माझडाँडा–५ का १४ वर्षीय हरि पुन रहेका छन् ।
त्यसैगरि रोल्पा गैरीगाउँ–५ को वर्ष १४ का दिपक डाँगी, रोल्पा हारजग–५ का वर्ष १३ का शंकर विक र दाङ पुनरधारा–९ का १३ वर्षीय विशाल विशाल थापाको उद्धार गरी परिवारमा पुनरमिलन तथा पुर्नस्थापनाका लागि संस्थाको जिम्मा लगाएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो ।