एजेन्सी,माघ १६।
अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधिका लागि आज रोजर फेडेरर र राफेल नाडालबिच प्रतिस्पर्धा हुँदैछ । १७ औं बरियताका स्वीस खेलाडी फेडेररले नवौं बरियताका स्पेनी खेलाडी नाडालसँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
फाइनल खेल नेपाली सयम अनुसार दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ । यसअघि ८ पटक ग्राण्ड स्लामको फाइनलमा भेट भएको फेडेरर र नाडालविच पछिल्लो पटक सन् २०११ मा फ्रेन्च ओपनको फाइनलमा भेट भएको थियो ।
३५ वर्षका फेडेररले सेमिफाइनलमा स्टानिसलास वावरिन्कालाई ७–५, ६–३, १–६, ४–६ र ६–३ को सेटमा हराएर फाइनलमा स्थान बनाएका हुन् भने ३० वर्षका नाडालले सेमिफाइनलमा ग्रिगोर दिमित्रोवलाई ६–३, ५–७, ७–६, ६–७ र ६–४ को सेटमा हराएर फेडेररसँगको भेट पक्का गरेका हुन् ।
नाडालले अहिलेसम्म एक पटक तथा फेडेररले चार पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । नाडालले अहिलेसम्म १४ वटा ग्राण्ड स्लाम उपाधि उचालेका छन् भने फेडेररले १७ वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् ।
अस्ट्रेलियन ओपनमा पछिल्लो पटक सन् २००९ मा फेडेररलाई हराएर नाडालले उपाधि जितेका थिए । यस्तै मिक्स डबल्सको उपाधिका लागि पनि आज नै खेल हुनेछ ।