काठमाडौं, माघ १५ ।
काठमाण्डौ उपत्यका सहित मुलुकका अधिकाशं स्थानको मौसममा आजबाट सुधार आउने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।
तर पश्चिम नेपालको उच्च पहाडी भेगमा अझै केही दिन हिमपात हुने मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिम नेपालमा अझै रहेकाले उच्च पहाडी क्षेत्रमा अझै केही दिन हल्का वर्षासँगै हिमपातको संभावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो ।
पश्चिमी न्युन चापिय प्रणलीका कारण हिजो उपत्यका सहित देशभरि बर्षासँगै चिसो बढेको थियो । मध्य र पूर्वको मौसम भने विस्तारै सफा हुँदै जानेछ । आजदेखि मौसममा सुधार आएसँगै दिउँसो पख घाम लाग्ने महाशाखाले जनाएको छ ।
मौसममा सुधार भएपनि बिहानीपख भने अझै केहि दिन चिसो कायमै रहने पनि पौडेलले बताउनु भयो । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ११ मिलिमिटर पानी परेको छ ।
देशका धेरै ठाउँमा पानी परेपछि केहि चिसो महशुस भएपनि न्यूनतम तापक्रम भने बढेको छ । अधिकतम तापक्रम भने घटेको छ ।