काठमाडौँ, १५ माघ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सुनाइएका गायक तथा हास्य कलाकार प्रकाश ओझा जेल चलान भएका छन् ।
बादी नेपाल सरकार प्रतिवादी ओझा भएको दुई वटा मुद्दामा सर्वोच्च अदालतको गत माघ ४ गतेको फैसलाले सुनसरी इटहरी उपमहानगरपालिका स्थायी घर भएका ओझालाई पाँच÷पाँच वर्ष गरी कुल १० वर्ष कैद सजाय तोकिएको थियो ।
उक्त फैसलापश्चात् फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शनिवार शङ्खमूलबाट पक्राउ गरि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाइएको हो ।
पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेपश्चात् निज ओझालाई अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रिय कारागार पठाइएको ब्युरोले जनाएको छ ।
ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाइ अनुचित प्रभावमा पारी तीन जना नाबालिकासँग अनैतिक सम्बन्ध राखी पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा श्रव्यदृश्य खिची सार्वजनिक गरीदिने धम्की दिई पटक÷पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र ती सामग्री बेवसाइटमा समेत राखी बेचबिखन गरी पैसा कमाउने उद्देश्य राखेको अदालतले ठहर गरेको थियो ।
सोही प्रकरणमा पीडित भएकी नायिका ज्योति खड्काले २०६९ जेठ ३० गते आत्महत्या गरेकी थिइन् । सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको यसअघिको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको हो ।