काठमाडौ १२ माघ ।
पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने दाउमा हुनेछ ।
आर्मी झापा ११ लाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो भने सहाराले भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो ।
यसअघि हिजोको खेलमा बंगलादेशी टोली नारायणगन्ज फुटवल क्लबलाई पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ ।
माघ १५ सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद पुरस्कार हात पार्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।