काठमाडौ ११ माघ ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि आज साँझ आक्रमण भएको छ । अस्पतालबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले न्यौपानेमाथि आक्रमण गरेको जनाइएको छ ।
दुई वटा मोटरसाइकल चढेर आएका उनीहरुले सुरुमा न्यौपाने चढेको गाडी रोकेर नमस्ते गरेका थिए । त्यसपछि क्रिकेटको स्ट्यामले न्यौपाने चढेको गाडीमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
स्ट्यामले लागेर डा न्यौपाने चडेको बा १४ च ७५६४ नम्बरको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
सिसाको टुक्राले शरीरमा लागेको भएपनि डा न्यौपाने र गाडी चालक सकुशल रहेका छन् । मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको डा न्यौपानेले बताउनुभयो ।
घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । आक्रमणको कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।