काठमाडौँ, ११ माघ । आगामि माघ १९ मा नेपाल र हङ्कङका राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल यही माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टोलीका संयोजक हेमन्त डाँगीले जानकारी दिएका छन् ।
उक्त मैत्रीपूर्ण खेलका लागि हङ्कङबाट एक प्रशिक्षकसहित तीन पुरुष र चार महिला खेलाडीले सहभागी जनाउने भएकाछन् ।उनीहरु यही माघ १३ गते नेपाल आउनेछन् ।
कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुने खेलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता रेजीना कार्की ,ज्ञानी चुनारा , ताराकुमार रायमाझी , महम्मद वेस र निश्चलमान श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, ५३ केजी तौल समूहमा भने स्वर्ण विजेता निमा गुरुङ र रजत विजेता रेश्मा थापाले प्रतिस्पर्धा गर्ने्छिन् ।
नेपाल र हङ्कङका राष्ट्रिय टोलीले यही माघ १४ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संयुक्त रुपमा प्रशिक्षण लिने छन् । माघ १६ गते नक्सालस्थित अर्जुन फिटनेश क्लबमा उक्त टोलीले प्रशिक्षण लिने मैत्रीपूर्ण खेलका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोख्रेलले जानकारी दिए ।