पोखरा, ११ माघ ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संबिधान संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दोहोर्याउनु भएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएकोले प्रक्रियामा लैजान नदिने बताउनु भयो ।
उहाँले सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती समेत दिनुभयो । पोखरेलले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गर्नुभयो ।
हिजो संविधान च्यात्छौँ, जलाउँछौ र मान्दै मान्दैनौ भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उहाँले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गर्नुभयो ।