काठमाडौ ११ माघ ।
बेपत्ता छानबिन आयोगले आगामी फागुनदेखि विस्तृत अनुसन्धान थाल्ने भएको छ । दसवर्षे द्धन्द्धकालमा राज्य र विद्रोही पक्षबाट बेपत्ता बनाइएकाहरुको विषयमा प्रारम्भिक अनुसान्धन सकेको आयोगले अब विस्तृत छानबिन थाल्ने भएको हो ।
प्रारम्भिक अनुसन्धान सकेकाले अब फागनु १ गतेदेखि बेपत्ता परिवारको विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी भएको आयोगका प्रवक्ता विष्णु पाठकले बताउनु भयो । बेपता पारिएकाहरुको पूर्वअवस्थाबाट अनुसन्धान थालिने आयोगले जनाएको छ ।
सशस्त्र संघर्ष सुरु भएको दिन १ फागुनदेखि विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ सम्म राज्य र विद्रोही पक्ष नेकपा माओवादीबाट बेपत्ता बनाइएका व्यक्ति र परिवारको खोजीका लागि सरकारले बेपत्ता परिवार अनुसन्धान आयोग बनाएको हो ।
बेपत्ता आयोग गठनसँगै ०७३ साल २ वैशाख देखि २६ साउनसम्म बेपत्ता आयोगमा दुई हजार आठ सय ८८ उजुरी संकलन भएका छन् । सबैभन्दा बढी बर्दियाबाट दुई सय ७६ उजुरी परेका छन् भने रसुवाबाट सबैभनदा कम चार वटा उजुरी परेका छन् ।