बैतडी, ११ माघ ।
बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल हुने भएका छन् ।
निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा हुने खेलमा योङ स्टार क्रिकेट क्लब मेलौलीले एनआरवाइसी बठ्ठाको सामना गर्ने छ ।
यस्तै बुढाबाजे क्रिकेट मैदानमा कालाशैनी क्रिकेट क्लबले त्रिपुरा क्रिकेट क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा आठ टिमको सहभागिता छ ।
प्रतिष्ठानको २२ औँ वार्षिकोत्सव तथा सहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता एक दिवसीय क्रिकेट फर्मेट अनुसार ४० ओभरको भइरहेको छ ।
बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र दिइने प्रतिष्ठानका सचिव नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै, म्यान अफ द सिरिज एक जनालाई नगद रु पाँच हजार प्रदान गरिने जनाएको छ ।
सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले विसं २०५३ सालदेखि नियमितरुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीबाट उमेर समूहका लागि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले बताए ।
यसअघि हिजो भएको खेलमा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् ।