काठमाडौ १० माघ ।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित भए देश सिक्किमीकरण हुने बताउनु भएको छ ।
पार्टीको ४३ औं स्थापना दिवसका अवसरमा आज भक्तपुरको दत्तात्रयमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधन भए नेपाली नागरिकता लिएका विदेशी नागरिक देशको उच्च ओहदामा पुगेर सत्ताका पुगे लगत्तै देशलाई भारतको जिम्मा लगाउने बताउनु भयो ।
यस्तो खतरालाई आउन नदिन र देशलाई सिक्किमीकरण हुनबाट जोगाउँन संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन नदिनुपर्ने बुजुक्छेको भनाई छ ।
उहाँले सत्तामा जाने पार्टीहरु विदेशीको ईशारामा चल्ने गरेको आरोप लगाउँदै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र कसैले पनि जनताको पक्षमा काम गर्न नसकेको तर्क राख्नुभयो ।
उहाँले माओवादी केन्द्रलाई भारतले बनाएको पार्टी भएकाले माओवादी सरकारमा हुँदा जहिलेपनि मुलुकको हितविपरित भारतसंग सम्झौता गरेर देशलाई नोक्सान पुर्याउने गरेको आरोप लगाउनु भयो ।
‘विदेशीले बोकाएको बन्दूक बोकेर, हत्या हिंसामा जानेहरुबाट समाजवाद आउँदैन’ उहाँले भन्नुभयो । उहाँले अहिलेसम्म सत्तामा जानेहरुले विदेशी कै ईशारामा चलेकाले जनताको पक्षमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको बताउँदै उहाँले भारतले नेपाललाई सके सिक्किमीकरण र नसके भुटानको स्तरमा पुर्याउन खोजेको आरोप लगाउनुभयो ।