काठमाडौ १० माघ ।
चालु आर्थिक वर्षमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो निक्षेपको १० प्रतिशत लगानी अनिवार्य रुपमा कृषि क्षेत्रमा गर्नुपर्ने नीति लागू गर्दै आएको भए पनि वाणिज्यले त्यसलाई बेवास्ता गरेको देखिन्छ ।
आव २०७३÷७४ को पुस मसान्तसम्ममा रु एक खर्ब ३८ अर्ब निक्षेप संकलन गरेको वाणिज्य बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड मात्र किसानलाई ऋण प्रवाह गरेको छ । यो लगानी कुल निक्षेपको शून्य दशमलव ६ प्रतिशत मात्र हुन आउँछ ।
त्यसभित्र पनि कृषि विकास मन्त्रालयले किसानलाई छुट्याएको अनुदान रकम रु एक अर्ब ९० करोड समावेश छ । नेपालको कृषि गणनाले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहेको देखाएको छ ।
विप्रेषणमार्फत प्रतिवर्ष झन्डै पुग नपुग रु ६ खर्ब रकम स्वदेश भित्रिने गरेको छ । तर दिगो विकासका लागि त्यस प्रकारको रकमले खासै अर्थ नराख्ने अर्थविद्हरु बताउँछन् ।