बनेपा, १० माघ ।
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन गरेर मधेसी समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
बनेपामा आज भएको राष्ट्रिय युवा अभियान काभ्रेपलाञ्चोकको प्रथम जिल्ला सम्मेलनमा बोल्दै उहाँले मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताउनु भयो ।
संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्दै उहाँले मधेसीलाई अल्झाउने कार्य नगरि संविधान संशोधनका लागि योगदान गर्नसमेत आह्वान गर्नुभयो ।
भट्टराईले संविधान कार्यान्वयन नहुँदा विगतमा भएका परिवर्तन र क्रान्ति गलत त थिएनन् भन्ने आशङ्का पैदा हुन थालेको तर्क गर्दै विकास र समृद्धिका लागि राष्ट्रिय एकता र स्वाधीनता आवश्यक भएको बताउनुभयो ।
इतिहासका निर्माता र सिर्जनशील कालखण्डका युवा शक्ति भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै भट्टराईले पराधीन र परनिर्भर अर्थतन्त्रको अन्त्य जरुरी भएको बताउनुभयो ।