काठमाण्डौ, माघ १० ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयकलाई अन्तिम रुप दिएको छ ।
समितिको आज बसेको बैठकले निर्वाचनको मिति सरकारले वा आयोगले नै घोषणा गर्ने भन्ने विषय बाहेक अन्य विषयलाई टुंगो लगाएको छ ।
समितिले निर्वाचनसम्बन्धी अन्य विधेयकहरुमा भने छलफल जारी रहेको जनाएको छ । अन्य विधेयकहरुमा उपसमितिले मस्यौदा प्रतिवेदन बुझाएपछि मात्र समितिमा छलफल हुने बताइएको छ ।
यसअघि निर्वाचन आयोगले विधेयकको मस्यौदा गृह मन्त्रालयमा पठाउँदा सरकारसँग छलफल गरेर आफूहरुले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान राखेको थियो । तर गृह मन्त्रालयले सच्याएर आयोगको परामर्शमा सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने प्रावधान राखेपछि समितिमा विवाद भएको थियो ।
यसैबीच समितिका सदस्यहरुले सरकारको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेकाले चाँडै नै निर्वाचनसम्बन्धी विधेयकहरु टुंगो लगाउनुपर्नेमा जोड दिएका छ्न ।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले चाँडै नै निर्वाचनको मिति घोषणा गर्ने बताइसकेकाले समितिले निर्वाचनसम्बन्धी ऐनहरु चाँडै टुंगो लगाउनुपर्ने बताएका छन् ।
समिति सदस्य यज्ञराज सुनुवारले सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेकाले समितिले चाँडै नै विधेयकको छलफल गरेर संसदमा पेश गर्नुपर्ने बताए ।
यस्तै समिति सदस्य अइन्द्रसुन्दर नेम्वाङले निर्वाचन प्रणाली अन्र्तगत समानुपातिक निर्वाचन प्रणालीले नै राजनीतिक दललाई सिमा तोकेकाले थ्रेसहोल्ड राखेर साना दलहरुको संसदमा प्रवेशलाई रोक्न नहुने तर्क राख्नुभयो ।
समितिमा निर्वाचन आयोगले आफ्नो सम्पर्क मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुनुपर्ने माग पनि गरेको छ ।