काठमाडौ ९ माघ ।
स्थानीयको अवरोधका कारण बनेपा– पनौती सडक अवरुद्ध भएपछि सवारी सवागमन प्रभावित बनेको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासका बासिन्दाले सास्ती खेप्नुपरेको भन्दै सडक अवरुद्ध गरेका हुन् ।
उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताएका छन् । सडक खुलाउन अहिले प्रशासन र स्थानीयबीच वार्ताको तयारी भइरहेको पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले जानकारी दिनुभयो ।
नगरपालिकाले लामो समयसम्म धुलो उड्ने क्षेत्रमा नियमित पानीको व्यवस्था गरे पनि सरोकार भएकाहरुले ध्यान नदिएको प्रशासनको आरोप छ ।
विगतमा जनतासँग भएको सहमति लागू गर्न आग्रह पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले गर्नुभएको छ ।
विभिन्न सङ्घसस्था र राजनीतिक दलबीच बनेपा– पनौती सडकमा भएको खाल्डाखुल्डी पुर्ने, धुलो उड्न नदिन पानीको व्यवस्थापन गर्ने लगायत सहमति पटक पटक भएको थियो ।