जुम्ला, ८ माघ ।
पूर्व गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक तथा सामाजिक परिवर्तन हुन नसकेको बताउनुभएको छ ।
प्रेस सेन्टर जुम्लाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले आर्थिक विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताउनु भयो । उहाँले विगतको समिक्षा गर्दै अब मुलुककोसमृद्धितर्फ आफुहरु अगाडि बढ्ने बताउनु भयो ।
वर्तमान संविधान, सङ्घीयता, धमर्मनिरपेक्षता , समानुपातिक र समावेशीता माओवादी एजेन्डा भएको जनाउँदै उहाँले माओवादी मार्ग चित्रमा देश अघि बढिरहेको दाबी पनि गर्नुभयो ।
बस्नेतले कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने प्रतिबद्धता पनि जनाउनु भएको छ । नाक्चेलाग्ना–मुगु–गमगढी–जुम्ला–जाजरकोट–दाङ–बाँके जोड्ने लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइने उहाँको भनाईछ ।
अर्को प्रशंगमा उहाँले सरकारले स्थानीय तहको चुनाव जेठसम्म र प्रदेश र केन्द्रको चुनाव २०७४ माघसम्म गर्ने लक्ष्य लिएको बताउनुभयो ।