काठमाडाँ७ माघ । गोरखाको बगुवा ४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ ।
‘मिलन बस्ती, एकीकृत बस्ती’को आज एक कार्यक्रमका बीच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गर्नुभयो । उक्त एकीकृत बस्तीमा बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिने छ ।
बगुवा गाविसको ४ र ५ नं वडाका रिठ्ठेपानी, धारापानी, नयाँगाउँ र पाण्डेगाउँका १५६ घरधुरीलाई सो एकीकृत बस्तीमा स्थानान्तरण गरिने बताइएको छ ।
सो ठाउँमा केही निजी र केही सरकारी जग्गा एकीकरण गरेर एकीकृत बस्ती बसाउन लागिएको हो ।
झन्डै २०० रोपनी क्षेत्रफलमा उक्त बस्ती निर्माण गरिनेछ । प्रत्येक घरधुरीलाई करिब ६ आना जग्गा छुट्टयाइएको छ । उक्त एकीकृत बस्तीमा निर्माण गरिने सबै घरहरु एकै प्रकृतिका र भूकम्पप्रतिरोधी हुने स्थानीयबासी हरिनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
निजी आवास निर्माण गर्न सरकारले उपलब्ध गराएको अनुदान र स्थानीयको लगानीमा बस्ती विकास गरिने बताइएको छ । विभिन्न छ वटा मार्ग रहेको उक्त एकीकृत बस्तीभित्र बालउद्यान, पौडी पोखरी र सभाहलसमेत निर्माण गरिने छ ।