काठमान्डौ ,माघ ७।
नेपाल पुलिसलाई पराजित गर्दै संकटा क्लब पोखरामा जारी १५ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा संकटाले विभागीय टोली पुलिसलाई २ –१ ले पराजित गर्दै क्वाटरफाइलनमा स्थान पक्का गरेको हो । ।
खेलको पहिलो हाफमा नै रभि पासवानको गोलबाट अग्रता लिएको पुलिसले त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । पासवानले खेलको ३५ औ मिनेटमा नै गोल गरेका थिए ।
तर दोस्रो हाफको ६४ औ र ८५ औ मिनेटमा संकटाले गोल गर्यो ।
आजको खेलमा पराजित भएसँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा अमेरिका, भारत, बंगलादेश र नेपाली टोली सहित १२ टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।
यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता आगामी माघ १५ गते सम्म सञ्चालन हुने छ ।