काठमाडौँ, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्ग अन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग (रुट) परिवर्तनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रधानमन्त्री निवासमा आज धनुषा क्षेत्र नं ७ बाट निर्वा्चित सांसद शत्रुधन महतोको नेतृत्वको सर्वदलीय प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझदै उहाँले रेलवे लाइनको रुट परिवर्तनका लागि पहल गर्ने बताउनु भयो ।
यसअघि पनि सो रुट परिवर्तन गर्न माग गर्दै ज्ञापनपत्र आएको स्मरण गराउदै प्रधानमन्त्री दाहालले भन्नुभयो , रेल्वे लाइन बिस्तार गर्दा साविकका बस्ती विस्थापित हुन्छ र मुआब्जा पनि बढी लाग्छ भने त्यसको वैकल्पिक उपाय खोज्नु पर्छ ।
त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिलाई बोलाएर कुरा गर्ने उहाँले बताउनु भयो ।
आवश्यक परे भारतीय रेल्वे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुने प्रधानमन्त्री दाहालको भनाई छ ।
जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग विभागले पुस ७ गते प्रकाशित गरेको सूचनाअनुसारको स्थानबाट लैजाँदा मिथिला नगरपालिकाको वडा नं ८ र ९ को बेङ्गाटावरका ४०० घर परिवारलाई उठाउनुपर्ने सांसद महतोले बताउनुभयो ।
सो मार्गबाट रेल अगाडि बढाउँदा बस्ती बिस्थापित हुने र राज्यलाई मुआब्जाको भार बढी पर्ने भएकाले त्यसको करिब २०० मिटर पश्चिममा रहेको खाली जमिनबाट रेल मार्ग बताउन उपयुक्त हुने उहाँले बताउनु भयो ।
त्यहाँको मुआब्जा पनि कम पर्ने र स्थानीयवासीलाई विस्थापित बनाउनु नपर्ने उहाँको भनाई छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि यसअघि ज्ञापनपत्र बुझाएपछि मन्त्री रमेश लेखकले यो मार्गको निरीक्षण गर्नुभएको सांसद महतोले जानकारी दिनुभयो ।