काठमान्डौ माघ ७।
पोखरामा जारी १५ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो चरणको अन्तिम खेल हुदै छ । आजको खेलमा सीएमजी संकटा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब विच प्रतिस्पर्धा हुने छ ।
जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल पोखरा रंगशालामा दिउसो हुने छ । प्रतियोगितामा अमेरिका, भारत, बंगलादेश र नेपाली टोली सहित १२ टोलीले सहभागिता जनाएका छन् ।
यस अघि हिजो भएको खेलमा रमपम झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिका बसोबास गर्ने नेपालीको टिम एएनएलाई झापा ११ले ४ –१ गोल अन्तरले स्तब्ध पार्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।
यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता आगामी माघ १५ गते सम्म सञ्चालन हुने छ ।