चितवन , माघ ६ ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले छिमेकी मुलुकहरुसँग बिकासका दृष्टिकोणमा मिलेर अगाडि बढ्न सरकारले काम गरिरहेको बताउनु भएको छ ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले विकास निर्माणका दृष्टिकोणले महत्वपूर्ण रहेका देशहरुसँग सम्बन्ध सुधारका लागि अहिलेको सरकार लागि परेको बताउनुभयो ।
विदेशमा रहेका नेपाली कामदारको सुरक्षा, हकहित र शोषण अन्त्यका लागि मन्त्रालयले विदेशी नियोगसँग छलफल जारी राखेको मन्त्री महतको भनाई छ । पछिल्लो समयमा सडक राजनीति बढी भइरहेको र यसले नेपालको हित नगर्ने उहाँले बताउनुभयो ।
संविधान संशोधनका विषयमा दलहरुबिच सहमति जुटाएर अघि बढ्ने पनि महतले बताउनुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय निकाय र प्रदेशको निर्वाचन आवश्यक रहेको उहाँको भनाइ थियो ।
स्थानीय निकायको निर्वाचन वैशाख वा जेठमा गरेपछि देश विकासले गति लिने मन्त्री महतले बताउनुभयो ।