काठमाडौँ, ६ माघ । नयाँ सरकार गठन भएको पाँचमहिना पुग्नै लाग्दा आज थप दुई जना मन्त्री थपिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दुई दलबाट एक एक जनालाई थप गरि मन्त्रीपरिषद बिस्तार गर्नुभएकोहो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।
सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।
नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीका हुनुहुन्छ । सिंह यसअघि पनि मन्त्री भइसक्नुभएको थियो भने खड्का मन्त्रिपरिषद्मा नयाँ हुनुहुन्छ ।