धनगढी, ६ माघ । करिब रु एक अर्ब २६ करोडको लागतमा कैलाली जिल्लामा निर्माण गरिएको हुलाकी राजमार्गको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखकले हुलाकी राजमार्ग तराई मधेसको आर्थिक समृद्धिको मार्ग रहेको बताउँदै राजमार्ग निर्माणमा भएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले हुलाकी सडक आयोजनाअन्तर्गत नेपालका १५ जिल्लामा झन्डै ७५० किमी हुलाकी सडक निर्माणको काम अघि बढेको जानकारी दिनुभयो ।
नेपालका लागि भारतीय राजदूत रायले प्राचीनकालदेखि नै दुवै देशको सम्बन्ध प्रगाढ र घनिष्ट रहेकाले कुनै व्यक्ति विषेश वा सरकारले चाहँदैमा यो सम्बन्धलाई बिगार्न नसक्ने धारणा राख्नुभयो । दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले घनिष्ट सम्बन्धकै कारण कहिलेकाहीँ समस्या आएपनि त्यसले असर नगर्ने बताउनु भयो ।
दुवै देश भौगोलिक, सांस्कृतिक, धार्मिक रुपमा जोडिएको उल्लेख गर्दै उहाँले अहिले दुवै देशको चुनौती राजनीतिक नभई विकास नै भएको बताउनु भयो ।
निर्माण भएको हुलाकी राजमार्ग नेपालको विकासका लागि उपयोगी हुने उल्लेख गर्दै रायले भारत सरकारले नेपालको शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार, सिँचाइ ऊर्जा विकासलगायतमा सहयोग गरिरहेको बताउनुभयो ।
भारत सरकारको अनुदान सहयोगमा कैलाली जिल्लाको लम्कीदेखि खक्रौलासम्मको ९उत्तर दक्षिण० झन्डै २७ किलोमिटर हुलाकी सडक निर्माण पूरा भएको छ । यस्तै धनगढीदेखि भजनी हुँदै सत्तीसम्मको ९पूर्वपश्चिम० ६२ किमी सडकमध्ये वसन्ता जङ्गल क्षेत्रको झन्डै १८ किमी क्षेत्रबाहेक बाँकी भागमा हुलाकी सडक निर्माण पूरा भएको छ ।
निर्माण हुन बाँकी १८ किमी भागको सडक निर्माण नेपाल सरकार आफैँले निर्माण गर्न लागेको र यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको हुलाकी सडक आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले जानकारी दिनुभयो ।
सडक निर्माणका लागि रेखाङ्कन गरिएको वसन्ता जङ्गलमा रुख कटानीको प्रक्रियामा ढिलाई भएकाले सडक निर्माण प्रक्रिया ढिलाई भएको हो । हुलाकी राजमार्गअन्तर्गत ठूला नदीमा पर्ने पुलको निर्माण, जग्गाको मुआब्जा, माटो, ढुङ्गा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडकलगायत साना पुलेसाको निर्माणको जिम्मा भारत सरकारले लिएको थियो । हुलाकी सडकखण्डमा पर्ने पुलमध्ये अधिकांश पुलको निर्माण पूरा भइसकेको छ । काँन्द्रा, कटनी, पवेरा, कनरी, कानी र खक्रौला नदीमा पुल निर्माणाधीन रहेको छ ।