काठमाडौँ, ५ माघ । श्रीलङ्काको कोलम्बोमा सम्पन्न दोस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको पदक विजेता खेलाडीसहितको टोली आज स्वदेश फर्किएको छ ।
गत माघ २ र ३ गते भएको प्रतियोगितामा नेपालले पुरुष÷महिला रेगु र डबल्समा गरी चार स्पर्धामा सहभागिता जनाएमा सबैमा रजत पदक हात पारेको थियो ।
पुरुषमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ तथा महिलामा सोममाया थापा मगर (कप्तान), सुमित्रा डङ्गोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितापछि भएको दक्षिण एसियाली सेपाकताक्रो महासङ्घको चौथो बैठकले प्रतियोगिताको तेस्रो संस्करण २०१८ जनवरीमा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । पहिलो संस्करण पनि नेपालमै भएको थियो । टोलीलाई नेपाल सेपाकताक्रो सङ्घका पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।