काठमाडौ ५ माघ ।
गएराति ट्याङ्करसहित त्रिशुली नदीमा खसी बेपत्ता भएका बारा जिल्ला अमलेखगन्जका २६ वर्षीय चालक उमेश तामाङ आज बिहान मृत अवस्थामा फेला परेको छ ।
नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाविस– ५ कालिखोलाबाट त्रिशूलीमा खसेर बेपत्ता भएको ट्याङ्करसहित चालकलाई प्रहरीले आज बिहान करिब ११ बजेतिर फेला पारेको हो ।
चालक तामाङ ट्याङ्करभित्र सिटमा मृत अवस्थामा फेला परेका थिए । काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ४ ख ४१४३ नं को ट्याङ्कर राति १२ बजेतिर त्रिशूली नदीमा खसेको थियो ।
घटनास्थलबाट झण्डै एक किलोमिटर पश्चिमतर्फ नदीको बिच भागमा ट्याङ्कर फेला परेको हो । स्टेरीङ्मा च्यापिएको अवस्थामा चालक भेटिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
ट्याङ्करका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाच्न सफल भएका छन् । दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसलाई उछिन्ने क्रममा ट्याङ्कर त्रिशूलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै ट्याङ्कर र चालकको खोजीकार्य जारी राखेका थिए ।