काठमाडौँ, ४ माघ ।
विभिन्न स्थानमा एकिकृत बस्ती निर्माण जुटेको धुर्मुस सुन्तली फाउन्डेसनका लागि कृषि विकास बैंकले रू १५ लाख सहयोग गरेको छ ।
भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप वस्ती विकासका लागि आज रकम हस्तान्तरण गरिएको हो ।
राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई रकम हस्तान्तरण गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको सिटौलाले जानकारी गराउनुभयो । उक्त सहयोग रकम महोत्तरीका मुसहर वस्तीमा एकीकृत नमुनाका ५० भवन संरचना निर्माणका लागि खर्च गरिने फाउण्डेसनले जनाएको छ ।
यसैबीच विसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंकले माइतीघर मण्डलामा हरियाली बनाउन तथा समाजका विभिन्न क्षेत्रमा सामाजिक सेवाका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
स्थापनाकालदेखि अहिलेसम्म बैंकले रू सात खर्ब १७ अर्ब कर्जा प्रवाह तथा छ खर्ब २९ करोड कर्जा असुली गरेको छ । बैंकले आव २०७२÷७३ मा रू दुई अर्ब ३० करोड मुनाफा गरेको छ ।